बैंकमा पैसा छ, बजारमा छैन

काठमाडौँ । यति बेला बैंक तथा वित्तीय संस्थाहरू लगानी र प्रतिफलको दोहोरो दबाबमा छन् । निक्षेप बढ्दै जाने तर कर्जा माग खासै नहुँदा बैंकहरुलाई आफ्नो ‘कस्ट अफ फण्ड’ लगानी जोगाउन समेत हम्मेहम्मे परिरहेको छ ।

२०८१ साउन २९ गतेको नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार बैंकहरुको कुल निक्षेपको आकार ६४ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । तर यसै अवधिमा कर्जा लगानी जम्मा ५१ खर्ब ६२ अर्ब रुपैयाँ भएको छ । समीक्षा अवधिमा ७८.९८ प्रतिशत सीडी रेसियो अर्थात् कर्जा/निक्षेप अनुपात कायम गरेका बैंकहरुले सोझै १२ खर्ब ५७ अर्ब बढी तरलता ‘होल्ड’ गरेका छन् ।

तथापि, कुल निक्षेप संकलनको अधिकतम ९० प्रतिशतसम्म लगानी गर्न पाउने केन्द्रीय बैंकको व्यवस्था अनुसार अहिले बैंकहरू ५७ खर्ब ७७ अर्ब रुपैयाँसम्म लगानी गर्न पाउँछन् । तर, कर्जाको माग नै नहुँदा बैंकहरुले यतिबेला सवा ६ खर्बमाथिको तरलता त्यसै भल्टमा राख्नु परेको छ ।

६ खर्बमाथिको तरलता फल्टमा रहनु भनेको बैंकहरुको कर्जा लगानी नहुनु मात्र होइन निक्षेपका लागि गरेको लगानी समेत खेर जानु हो ।

भदौ महिनाका लागि बैंकहरुले साधारण निक्षेपमा औसत ६.५४ प्रतिशत ब्याज प्रदान गरेका छन् । पछिल्लो महिना साउनका लागि ६.७३ प्रतिशत ब्याजदर प्रदान गरेका बैंकहरुले उक्त निक्षेपका लागि सो बराबरको खर्च गरेका छन् । तर, लगानी नहुँदा बैंकहरु सस्तो ब्याजमा नै उक्त तरलता केन्द्रीय बैंकलाई बुझाउन बाध्य छन् ।