२ लाख रुपैयाँ जरिवाना श्रीकेश तेल उत्पादकलाई

काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको हो ।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले गत असार ७ गते कम्पनीसँग विवरण माग गरेको थियो ।

कच्चा पदार्थ तथा जडीबुटीहरु एक आपसमा मिश्रण गर्दा प्रयोग अवधि (३ वर्ष) सम्म कुनै हानीकारक तत्वमा परिणत नहुने प्रमाणित प्रतिवेदन, कच्चा पदार्थको समिश्रणले मानव स्वास्थ्यमा असर नपर्ने प्राविधिक तथा वैज्ञानिक पुष्टि हुने कुनै पनि विश्लेषण प्रतिवेदन कम्पनीले उपलब्ध नगराएको महानगरले जनाएको छ ।