होटलमा युवती हत्या

हेटौँडा, भदौ १७ गते । 

हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्कस्थित एक होटलमा हेटाैँडा ११ नवलपुरकी एलिषा भन्ने अलिसा न्यौपानेलाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ४ कमलडाँडाका समिर खान भन्ने चाँद खाँ पैठानलाई पक्राउ गरेको छ ।

न्यौपानेको हत्यापछि फरार रहेका ३२ वर्षीय खाँलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले २२ वर्षीया न्यौपानेको हत्यापछि फरार रहेका खाँलाई खोज तलासका क्रममा सोमबार साँझ समयमा हेटौँडा ५ लटिनाथ मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले फरार रहेका खाँलाई ज्यानसम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको बताउनुभयो ।

यही भदौ १० गते हेटौँडा १० बसपार्कस्थित रत्ना होटलको कोठा नं. २०५ मा न्यौपाने मृत अवस्थामा फेला परेकी थिइन ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका खाँ र मृतक न्यौपाने भदौ ९ गते आइतबार बा ६४ प १३५ नं. को स्कुटरमा उक्त होटलमा आई कोठा भाडामा लिई बसेको सिसीटिभी फुटेजमा देखिएको छ ।

सोही दिन राति चाँद खाँ पैठान होटलको काउण्टरमा गएर केही समय होटल बाहिर गएर पुनः कोठमा आउने भन्दै बा ६४ प १३५ नं. स्कुटरको साँचो दिएर होटेल बाहिर निस्किएका थिए ।

तर भदौ १० गते बिहानको समयमा उक्त होटल सञ्चालकले कोठा नं. २०५ मा बसेकी महिलाले होटेलको ढोका नखोलेको भन्दै प्रहरीमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानको क्रममा घट्नापछि हत्या आरोपी खाँलाई उम्काउने कार्यमा सहयोग पुराएको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले चाद खाँका आमा, श्रीमती, ससुरा र जेठानलाई नियन्त्रणमा लिएको हो ।

चारैजना माथि कर्तव्य ज्यानको मतियारको रुपमा अदालतबाट म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखेर अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ