बेनी : म्याग्दीमा यस वर्ष १२ करोड रुपैयाँ मूल्य बराबरको आलु उत्पादन भएको छ। जिल्लाभर एक हजार आठ सय ८२.८ हेक्टर क्षेत्रफलमा आर्थिक वर्ष २०८०/०८१ मा ३३ हजार १५०.२३ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ। केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको जानकारी दिइन्।
कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको खायन आलु प्रवर्द्धन कार्यक्रम मार्फत ९१ हेक्टरमा एक हजार सात सय दशमलव ३८ मेट्रिक टन आलु उत्पादन भएको छ,’ उनले भनिन् ‘कृषक आफै र आलु जोनको कार्यक्रम मार्फत एक हजार सात सय हेक्टर क्षेत्रफलमा भएको आलुखेतीबाट ३१ हजार चार सय पचास मेट्रिक टन आलु उत्पादन भएको हो।
कृषकले प्रतिकिलो सरदर ३७.५ रुपैयाँमा बिक्री गरेको मूल्यलाई आधार मान्दा जिल्लाभर यसपाली १२ करोड ४३ लाख १२ हजार पाँच सय रुपैयाँको आलु उत्पादन भएको कृषि प्रसार अधिकृत लामिछानेले बताइन्। आर्थिक वर्ष २०७९/८० मा म्याग्दीमा एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ।
































