काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहित पहिरो खस्दा राजमार्ग अवरूद्ध बनेको छ।
धादिङ धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवा भन्ने ठाउँमा सोमबार साँझ ६ बजेतिर लेदोसहितको पहिरो झरेको हो।
नागढुंगाको सुरूङमार्ग नजिकै रहेको उक्त ठाउँमा पहिरो खसेसँगै धादिङ र काठमाडौं दुवैतर्फ लामा जाम भएका छन्। काठमाडौंतर्फको जाम चन्द्रागिरि नगरपालिका-२ वाणभन्ज्याङसम्म पुगेको छ भने धादिङतर्फ पनि लामो जाम भएको छ।
राति करिब ८ बजेसम्म पनि पहिरो समय समयमा झरिरहँदा पन्छाउन पनि कठिन भएको थियो।
अहिले भने पहिरो रोकिएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।
उनका अनुसार एक्सकाभेटरले टिपरमा लोड गरी लेदोसहितको माटो पन्छाइरहेको छ।
सडक खुलाउन प्रहरी स्थानीय लगायत खटिएका छन्।
लेदोसहित आएको पहिरोमा एउटा एसयुभी समेत फसेको थियो। त्यसलाई पनि निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।































