काठमाडौं । एनसेलले प्रदेशस्तरमा संचालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमहरु अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका-४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरमा ३ सयभन्दा बढी स्थानीयहरुले निःशुल्क स्वास्थ्य सेवाहरुको लाभ लिएका थिए।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए। बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधिहरु पनि पाएका थिए।
यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो ।
यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।
“एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैं प्रतिबद्ध रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न सामाविक विकासका कार्यहरु गर्दै आएका छौं। हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।
एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरु कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।
































