गैरआवासीय नेपाली संघद्वारा राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित एक सय २० परिवारलाई राहत वितरण गरेको छ ।

बाढी, डुबान तथा पहिरोका कारण प्रभावित दक्षिणकालीका ५० परिवार तथा इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्तीलगायत सामग्री वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात् दुवै जिल्लाका अति प्रभावितलाई  राहत वितरण गरिएको संघले जनाएको छ ।

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा आज दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा राहत वितरण गरिएको हो ।

सोमबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र बुधबार ललितपुरको ठोस्नेखोलामा पीडित परिवारलाई राहत वितरण गर्ने संघले जनाएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।

यस्तै  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।