दसैँका लागि मुस्ताङबाट आठ हजार भेडा र च्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडा र च्याङ्ग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख पशु चिकित्सक लालमणी अर्यालले उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपटक च्याङ्ग्राको बिक्री बढेको बताए ।
‘घटस्थापनाको दिनदेखि शुरु भएको स्वास्थ्य परीक्षण गरेर च्याङ्ग्रा बजार पठाउने काम मंगलबार सकिएको छ,’ उनले भने, ‘कृषकले तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ३७ हजारका दरले च्याङ्ग्रा बिक्री गरेका छन् ।’ सरदर मूल्यअनुसार मुस्ताङ, डोल्पा र मुगुका कृषकले २६ करोड ४० लाख मूल्य बराबरको भेडा र च्याङ्ग्रा बिक्री गरेका केन्द्रका प्रमुख अर्यालले बताए ।
पाँच सय भेडा र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत सहरमा मुस्ताङी च्याङ्ग्रा बिक्री भइरहेका छन् । जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिने भएकाले दसैँ र तिहारमा हिमाली च्याङ्ग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छन् ।
यस पटक गत वर्षको तुलनामा मूल्य सस्तिएकाले च्याङ्ग्राको बिक्री बढेको व्यापारी टसी छेवाङ गुरुङले बताए । ‘गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका थियौँ, यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेर ल्याएका छौँ,’ उनले भने, ‘ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटेको हो ।’
गत वर्ष काठमाडौं र पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपटक ४५ हजारभन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगाे हुँदा बिक्री नभएर व्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।
































