२१ कात्तिक, काठमाडौं । सेप्टेम्बरको एक चुनावी सभामा रिपब्लिकन पार्टीका राष्ट्रपति प्रत्यासी डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामीसँग धेरै नराम्रो व्यवहार गरिएको छ, प्राय: मित्र राष्ट्रहरूले हाम्रा गठबन्धन (मित्र) देशहरूले हामीलाई हाम्रा तथाकथित शत्रुहरू भन्दा पनि नराम्रो व्यवहार गर्छन्, सैन्य क्षेत्रबाट, हामी जसलाई सुरक्षा गर्छौं, उनीहरूले नै हामीलाई व्यापारमा ठग्छन्। हामी यो अब हुन दिने छैनौं।’
अन्ततः धेरैथरिका आकलन र रस्साकस्सीका बीच अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएका छन् । चुनावी अभियानका दौरान अमेरिकी विदेश नीतिमा व्यापक परिवर्तनको आवश्यकता औंल्याउँदै आएका ट्रम्प अब विदेश नीतिमा बदलाव गर्नसक्ने भूमिकामा आइपुगेका छन् ।
अघिल्लो कार्यकालमा ट्रम्पको चाहनालाई सिनेटबाट रोक्ने विकल्प बाँकी थियो । यसपटक शक्तिशाली मानिने माथिल्लो सदन अर्थात सिनेटमा रिपब्लिकन पार्टीको बलियो बहुमत छ । १०० सिटमा रिपब्लिकनले ५२ सिट जित्दा डेमोक्रेटले ४२ सिट जितेको छ ।
अमेरिकामा सिनेटले महाभियोग र विदेशी सम्झौता जस्ता महत्वपूर्ण मुद्दामा निर्णय गर्ने अधिकार राख्छ । त्यसो त, तल्लो सदनको ४३५ सिटमा पनि रिपब्लिकन पार्टीले १९७ सिट जितेको छ । यो बहुमत अर्थात् २१८ सिटको नजिक छ ।
अब उनको नयाँ कदम रोक्नका लागि केवल रिपब्लिकन पार्टी मात्र बाँकी छ र त्यसमा पनि उनको बलियो प्रभाव छ । यो पृष्ठभूमिमा ट्रम्पको यो विजयले अन्तर्राष्ट्रिय राजनीतिमा व्यापक बदलाव हुनसक्ने आकलन विश्लेषकहरूले गरेका छन् ।