चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन हुनुपर्छ: कांग्रेसका महामन्त्री गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेसँगै बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) सम्झौताप्रति कांग्रेसको स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले चीनसँग सहमति भएका अनुदान सहायता तथा अन्य सम्झौताहरू पूर्ण कार्यान्वयनमा ल्याएपछि मात्रै बीआरआई योजना अगाडि बढाउनुपर्ने अडान रहेको बताए।

उनले नेपाली कांग्रेसको यो धारणा नेकपा एमालेसँग फरक रहे पनि मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्न सक्ने विश्वास व्यक्त गरे।

बीआरआईसहित चीनसँगका ठूला परियोजनाहरू अघि बढाउने क्रममा उनले दलहरूबीच सहकार्य र सामूहिक धारणा निर्माण गर्ने बताए। उनले भने, ‘हामीले पुराना सम्झौता कार्यान्वयनपछि मात्र नयाँ योजनाबारे छलफल गर्नुपर्छ। यसबारे एमालेसँग छलफल गर्दै साझा धारणा बनाउन हामी तयार छौं।’

महामन्त्री थापाले कांग्रेसको नीति स्पष्ट पार्दै भने, ‘हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौं। नेपालमा विदेशी लगानी ल्याउन चाहन्छौं, तर यो हाम्रो राष्ट्रिय क्षमतासँग मेल खाने हुनुपर्छ।’

महामन्त्री थापाले चीनसँगको साझेदारीलाई व्यवस्थित गर्दै साझा सहमति निर्माणका लागि एमालेसँग सहकार्यको प्रतिबद्धता व्यक्त गरे।