संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्।
विमानस्थल बन्दको बहाना पारेर चर्को टिकट मूल्य बढाउने अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई मन्त्री पाण्डेले निर्देशन दिएका हुन्।
मन्त्री पाण्डेले हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीलाई उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएको मन्त्रालयले बताएको छ।
नागरिकले हवाई भाडा वृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउँदै मन्त्री पाण्डेले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई निर्देशन दिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएसँगै अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको छ। विमानस्थल ट्याक्सी विस्तारका लागि गत शुक्रबार रातीदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएपछि सबैजसो अन्तर्राष्ट्रिय हवाईसेवा प्रदायक कम्पनीले अत्यधिक चर्को भाडा असुल्न थालेका हुन्। हवाई कम्पनीले अहिले चार गुणा चर्को मूल्यमा टिकट बिक्री गरिरहेको यात्रुहरुको गुनासो छ।
































