काठमाडौं : मेडिकल व्यवसायी दूर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको दाबी गर्दै सार्वजनिक गरेको कागजात नक्कली (फेक) भएको भएको बयान दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)का अधिकारीहरूसँगको बयानमा प्रसाईंले उक्त कागजातहरू नक्कली र त्यसमा कुनै सत्यता नभएको बयान दिएका हुन्।
प्रसाईंले आफूलाई ह्वाट्स एपमार्फत उक्त डकुमेन्ट आएको बताएका छन्। ‘मलाई कसैले ह्वाट्स एपमा उक्त डकुमेन्ट पठाएको हो। कसले पठाएको हो भन्ने पनि थाहा छैन। ह्वाट्स एपमा आएपछि मैले सार्वजनिक गरेको हुँ। यो डकुमेन्ट फेक हो। बयानमा उनले भनेका छन्।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा प्रहरीले उनीमाथि अनुसन्धानसमेत गरिरहेको छ। अनुसन्धानकै क्रममा सिआईबीको टोलीले झापा मेचिनगर नगरपालिका-१३ चारआलीका नविन प्रधान भन्ने हरिचन्द्र फुयललाई समेत पक्राउ गरेको छ। दुर्गा प्रसाईंसँग लेनदेन र ‘कनेक्सन’ देखिएपछि सिआईबीको टोलीले ३६ वर्षीय फुयललाई भारतको आसामबाट पक्राउ गरेको हो।
प्रहरी अुनसन्धानले फुयलले भारतीय नम्बरबाट नेपालमा विभिन्न व्यवसायीहरूलाई धम्काउँदै आएको देखाएको छ। सिआईबी स्रोतका अनुसार फुयलले नेपालका व्यवसायीहरूलाई आफू लरेन्स बिश्नोई समूहको सदस्य रहेको र दुर्गा प्रसाईंसँग तुरुन्त माफी नमागे ज्यान लिने धम्की दिँदै आएका थिए।
फुयलले प्रसाईंसँग ५ लाख रुपैयाँ लिएको समेत प्रहरी स्रोतले बताएको छ। दुर्गा प्रसाईंबाट रकम लिएर उनकै निर्देशनमा काम गर्दै आएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले दाबी गरेका छन्।
सिआईबी प्रमुख एआईजी दीपक थापाले आपराधिक लाभ लिन नहुने कसूरमा फुयलमाथि अनुसन्धान भइरहेको बताए। ‘अदालतबाट ५ दिनको म्याद थप गराएर फुयलविरुद्ध आपराधिक लाभ लिन नहुने कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएका छौं। उनको कनेक्सनहरूबारे खोजबिन गर्दैछौं,’ अन्नपूर्णसँग उनले भने। प्रसाईं र फुयलबीच लेनदेन भएको समेत देखिन आएकाले प्रसाईंमाथि समेत आपराधिक लाभ नहुने कसूरमा प्रहरीले अुनसन्धान अगाडि बढाएको छ।
सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं भने ललितपुरको हरिसिद्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।
































