काठमाडौं । प्रदर्शनको क्रममा रहेको चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसार रोकिएको छ । उच्च अदालत पाटनले ‘लाज शरणम्’को सेन्सर नभएसम्म प्रचार नगर्न अन्तरिम आदेश दिएको छ । अदालतले ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न/नगराउन अन्तरिम आदेशमा भनेको छ ।
पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमको तर्फबाट उनको अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर भएको थियो ।
केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने भन्दै आदेशमा त्यसअघि निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न आदेशमा उल्लेख छ ।
सो सम्बन्धी पोस्टहरू प्रकाशन, प्रसारण नगर्न÷नगराउन पनि आदेशमा भनिएको छ ।
आदेशसँगै ‘लाज शरणम्’को प्रचार प्रभावित हुने भएको छ । फागुन १४ गते रिलिज हुने तयारी रहेको चलचित्र अब के हुन्छ अन्योल भएको छ ।
कुमार कट्टेलले यसलाई निर्देशन गरेका छन् ।
































