दर्शनका लागि बिहान २ बजेदेखि खुल्दै छ पशुपतिनाथ मन्दिर

काठमाडौँ- महाशिवरात्रिका अवसरमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने पशुपति विकास कोषले अनुमान गरेको छ। त्यस्तै करिब ५ लाखले बाहिरबाट गजुर दर्शन गर्ने अनुमान पनि कोषले गरेको छ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार बुधबार बिहान २ बजेदेखि मन्दिर खुला हुनेछ। त्यसरी खुला भएको मन्दिर बुधबार  शिवरात्रिका दिन दर्शनार्थीको भीड नसकिउन्जेलसम्म खुला रहने पनि कोषले जानकारी दिएको छ। त्यस क्रममा मूल भट्टसहित ५ जना भट्टहरू मन्दिरमा रहनेछन्।

पशुपति मन्दिरका चार ढोकाका आधारमा चारवटा लाइन बाहिरबाट मन्दिरभित्र पस्ने व्यवस्था गरिएको पनि कोषले जनाएको छ। मन्दिरभित्र ती चार लाइनलाई १० वटा सहायक लाइन बनाएर प्रत्येक भक्तजनले २ सकेन्ड दर्शन गर्न पाउने पनि  कोषले जानकारी दिएको छ।

विगतमा शिवरात्रिमा वितरण गरिने पास दुरुपयोग भएको भन्दै कोषले यसपटक पास खारेज गरेको छ । भिभिआइपी र भिआइपी दर्शनार्थीलाई मन्दिरभित्र लैजान वनकालीमा रहेको कोषको कार्यालयमा हेल्प डेस्क राखिएको छ। त्यस्तै वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई कोषले वनकालीमा रहेको हेल्प डेस्कबाट सोझै मन्दिर लैजाने सुविधा दिने पनि कोषले जानकारी दिएको छ।