निजी क्षेत्रको जलविद्युत आयोजनामा अहिलेसम्मकै ठुलो लगानी

काठमाडौँ। ३४१ मेगावाटको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन लगानी जुटेको छ ।

काठमाडौँमा बिहीबार एक कार्यक्रमबिच उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र ऊर्जा मन्त्री दीपक खड्काको सहभागितामा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र १० बैङ्क तथा वित्तीय संस्थाबिच ऋण लगानी सम्झौता भएको हो ।

७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको  बुढीगण्डकी पीआरओआर परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको नेतृत्वमा १० बैङ्क तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी जुटेको हो ।

जसमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १० अर्ब, नबिल बैङ्क ८ अर्ब, लक्ष्मी सन्‌राइज बैङ्क ८ अर्ब, ग्लोबल आईएमई बैङ्क ७ अर्ब, माछापुच्छ्रे बैङ्क ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी ४ अर्ब,नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क ३ अर्ब, प्रभु बैङ्क ३ अर्ब , सिटीजन बैङ्क ३ अर्ब र कृषि विकास बैङ्कले २ अर्ब ५० करोड लगानी गरेका छन् ।

 

परियोजनामा ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाउन लागिएको हो । यसमा बैङ्कहरूले संयुक्त रूपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । बाँकी २५ प्रतिशत लगानी अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ भने टाइम्स इनर्जी प्रवर्द्धक कम्पनी स्वपुँजीको रूपमा लगानी गर्नेछन् ।

टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले ५१ प्रतिशत स्वपुँजी लगानी गर्नेछ । निजी क्षेत्रले बनाउन लागेको र वित्तीय व्यवस्थापन गरेको हालसम्मकै ठुलो आयोजना हो । यसअघि २८५ मेगावाटको माथिल्लो तमोर आयोजना र २१६ मेगावाटको माथिल्लो सेती आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ ।

अर्धजलाशय प्रकृतिको यो परियोजना गोरखामा रहेको छ । परियोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा हुनेछ । आयोजनाको २०८७ पुस १७ मा व्यावसायिक उत्पादन मिति रहेको छ ।