काठमाडौँ। रोजगारीका लागि युएई पुगेका सात नेपाली श्रमिकलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूएईको पहलमा उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ। मेनपावरमार्फत युएई पुगेका उनीहरू सम्झौताअनुसार काम र सुविधा नपाएपछि सडकमा अलपत्र परेका थिए।
शनिबार बिहान एनआरएनए आईसीसी उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, उपाध्यक्ष भीम मल्ल ठकुरी र समाजसेवी सबिन तामाङको उपस्थितिमा पीडित श्रमिकलाई विमानस्थलसम्म पुर्याई सुरक्षित रूपमा नेपाल पठाइएको हो।
उद्धार गरिएका श्रमिकहरूमा कृष्णप्रसाद मराइज, लिला बहादुर तामाङ, अमन तामाङ, राजन बस्नेत, सबिन बिके, हेमबहादुर सुनार र राज बिके रहेका छन्।
रोजगारदाता कम्पनीबाट काम, तलब, साथै बस्ने र खाने व्यवस्था पनि नहुँदा उनीहरूलाई समस्या परेको थियो।
































