कञ्चनपुर — लगातारको अविरल वर्षापछि विभिन्न नदी नालामा आएको बाढीका कारण कञ्चनपुरमा आधा दर्जन बस्तीका ५७ परिवार र सशस्त्र प्रहरीका २ बीओपी विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिकामा ५२ परिवार र २ बीओपी तथा भीमदत्त नगरपालिकामा ५ परिवार विस्थापित भएका हुन् ।
प्रहरीका अनुसार जोगबुडा नदीमा आएको बाढी बस्तीमा पस्दा दोधारा चाँदनी नगरपालिका ८ रामपुरे टापु र जर्गा टोलमा २५ परिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ । सोही नगरपालिकाको वडा नं. ३ को पटेरा खल्लामा पनि जोगबुडाको बाढी पस्दा १५ परिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा राखिएको छ ।
दोधारा चाँदनी नगरपालिका १० को शान्ति टोलमा पनि बाढी पसेपछि १२ परिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको अम्बिका आधारभूत विद्यालयमा राखिएको छ । वर्षा नरोकिएको र नदीहरूमा बहाव बढिरहेका कारण दोधारा चाँदनी नगरपालिकामा विस्थापितको संख्या अझै बढ्न सक्ने देखिएको छ ।
‘जोगबुडा नदीमा पानीको बहाव बढ्दै गएको छ, नदी किनारका अधिकांश बस्तीहरू डुबानमा परेका छन्,’ दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता समेत रहेको वडा नं. ३ का अध्यक्ष हरिसिंह धनाडीले भने, ‘पटेराखल्ला, कञ्चनभोज, शान्ति टोल र कुतियाकभर पुरै डुबानमा परेको छ ।’उनका अनुसार साँझ अबेरसम्म विस्थापितहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
प्रहरीका अनुसार महाकाली नदीमा सोमबार साँझ ५ बजेको मापन अनुसार पानीको बहाव २ लाख ३८ हजार क्युसेक पुगेको छ । यो बहाव यस वर्षको हालसम्मकै उच्च हो । महाकालीमा आइतबार साँझदेखि नै नदीमा पानीको बहाव बढेको हो ।
































