चाडपर्वमा दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन महानगरको आग्रह

काठमाडौँ महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुने भएकाले त्यसको गुणस्तरमा ख्याल गर्न आग्रह गरेका हुन् ।

विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी दूधजन्य वस्तु उपभोग गर्ने भएकाले उक्त समूह सबैभन्दा जोखिममा पर्ने भन्दै स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ । “दूध र दुग्धजन्य पदार्थ प्रायः सबै उपभोक्ताले उपभोग गर्ने भएकाले सानो गल्ती हुँदा पनि स्वास्थ्यमा समस्या हुनसक्छ । त्यसैले उपभोक्ताका साथै दूधमा प्रयोग हुने पानीको गुणस्तर, बिक्री–वितरणका लागि प्रयोग हुने प्लास्टिक वा रबरको गुणस्तर, भण्डारणको तरिका आदिमा व्यवसायीहरू निकै सचेत हुनुपर्छ”, न्यौपानेले भने ।

महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विविध कार्यक्रम गर्दै आएको छ । महानगरद्वारा सञ्चालित खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले अब व्यवसायलाई सुदृढ तथा व्यवस्थित बनाउन डेरी पसल र साना दूध तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायी सुधारको कामसमेत गरिनुपर्ने बताए ।