यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा महानगरभित्र डेङ्गु सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कमी आए पनि आगामी कात्तिकसम्म सङ्क्रमणको जोखिम कायम रहेको महानगरले जनाएको छ ।

सङ्क्रमणको त्रास कायम रहेकाले कामपाले डेङ्गु सार्ने लामखुट्टेको वासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यलाई तीव्र बनाइरहेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका स्रोत व्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार वडा र समुदायस्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायत स्थानीयको सहभागितामा लार्भा खोज र नष्ट गर अभियान जारी छ ।

गत आवको भदौमा छ सय ८६ जनामा सङ्क्रमण भएको थियो भने चालु आवको भदौमा एक सय ९७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको भुसालले जानकारी दिए। उनका अनुसार गत आवको तुलनामा चालु आवका सङ्क्रमितको सङ्ख्या कमी आएको हो ।