गलकोट– बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहेका छन् । विगतमा तिहारलाई लक्षित गरी उनले सयपत्री फूल बिक्री गर्थे, यसपटक भने फूलका बिरुवा मात्रै बिक्री गरेका छन् ।
बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसकेका छन् । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उनले बिरुवा बिक्री गरेको बताए ।
पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताए। उनले ४० रुपैयाँमा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उनले बताए ।
‘गत वर्षसम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, यसपटक फूलभन्दा बिरुवाको कारोबार बढी भयो । हालसम्म पाँच हजार बिरुवा बिक्री गरिसकेँ । हाल माग धान्न नसकेर अन्य ठाउँबाट ल्याएर फूलका बिरुवा बिक्री गरिरहेको छु,’ बोहोराले भने, ‘विभिन्न जातका फूल तथा फलफूलका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको छु । यसपटक बिरुवा बिक्रीबाट रु दुई लाख कारोबार गरिसकेको छु ।’
भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन गरेर जन्मथलो फर्केर पुष्प व्यवसाय गरिरहेका बोहोराले वर्षमा १५ लाख रुपैयाँसम्म फूलको कारोबार गर्ने गरेको सुनाए ।
































