धान थन्क्याउन नपाउँदा किसान चिन्तित

महोत्तरी – दीपावली र छठसहितका मुख्य पर्व मनाएका महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर बेचैन भएका छन्। चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले निराश बनाएको छ। आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ।

महोत्तरीसहितका मधेसमा गत मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो। बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएपछि किसानको चिन्ता बढेको हो। खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले मुखको पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन्।

बुधबार मध्यरातपछि पर्न थालेको पानी छिनछिन रोकिँदै अझै पर्दैछ। बिहीबारदेखि परेको चोटिलो पानीले पाकेको धान बोटबाटै झारेको किसानले बताएका छन्।

महोत्तरीसहितका मधेसमा उत्तरी क्षेत्रमा चाँडै पाक्ने ९कात्तिक पहिलो साताभित्र धान लगाइन्छ। उत्तरी क्षेत्रको माटो बलौटे हुँदा चाँडै रुखिने हुन्छ। यसैले गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइन यस भेगमा चाँडो पाक्ने धान लगाइने गरिन्छ। यसपालि बर्खाकालमा लामो समय सुक्खा पर्दा धान रोपाइँ ढिलो भएर यस भेगमा पाक्ने समय कात्तिक दोस्रो साता पुगेको हो।

बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले धान पाकेर पहेँलपुर छ। अधिकांश किसान धान काट्ने मेसोमै लागेका बेला अहिले पानी परेपछि यो काम बिथोलिएको हो। उत्तरी क्षेत्रमा धान पाकेर पहेँलपुर भए पनि मध्य र दक्षिणी क्षेत्रमा भने मङ्सिरमा पाक्ने धान बढी रोपिएको छ।

 

यसैबीच मधेस प्रदेश सरकारले अहिले बङ्गालको खाडीको मोन्था चक्रवातको प्रभाव मधेसका सबै जिल्लामा पर्ने सचेत गराउँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ। बुधबार मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि मुख्यमन्त्री जितेन्द्र सोनलले अहिले सावधानी अपनाउन आम प्रदेशवासीलाई सचेत गराउँदै अनुकूल मौसम नहउञ्जेल धान नकाट्न अपिल गरेका हुन्।