वीरगञ्ज भन्सार कार्यालयमा अनलाइन भन्सार डेटाबेस प्रणाली (Customs Valuation Database System) सञ्चालनमा ल्याइएको छ । सरकारले वस्तु आयातमा प्रचलित सन्दर्भ मूल्यको सट्टा वास्तविक बिल/इनभोइसका आधारमा भन्सार लिन सुरु गर्ने नीति गत महिना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यालयले डेटाबेस प्रणाली ल्याएको हो ।
आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा प्रचलित सन्दर्भ मूल्यसूची विस्थापित गर्ने गरी भन्सार कार्यालयहरूमा अनलाइन भन्सार डेटाबेस प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो । यसै अनुरूप विराटनगर भन्सार कार्यालयबाट पाइलटिङ थालिएको यो प्रणाली शनिबारदेखि वीरगञ्ज भन्सारमा पनि सुरुवात गरिएको हो ।
डिजिटल माध्यमबाट कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई सुरक्षा र सुशासनका साथ व्यवसाय सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले अन्तर्राष्ट्रिय व्यापारमा विश्व व्यापार संगठनद्वारा मान्यता प्राप्त ग्याट भ्यालुएसन (GATT Valuation) प्रणालीलाई नेपालको भन्सार ऐन तथा नियममा समेत स्वीकार गरिएको उल्लेख गर्दै कारोबार मूल्यलाई मान्यता दिने उद्देश्यका साथ अनलाइन कस्टम डेटाबेस प्रणाली परीक्षण तथा कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
सरकारको अपेक्षा अनुसार यो प्रणालीले वैध व्यापारलाई प्रोत्साहन गर्ने, मूल्य वृद्धिसँग सम्बन्धित कर र अन्य कर व्यवस्था कार्यान्वयनमा सहायता पुर्याउने, अनौपचारिक कारोबार घटाउने र उद्योग–व्यवसाय फस्टाउने विश्वास गरिएको छ ।
प्रणालीले राजस्व चुहावटको जोखिम नियन्त्रण गर्न ‘विद्युतीय जोखिम इन्जिन’ सञ्चालन गर्नेछ । शंका लागेका कारोबारहरूको छानबिनका लागि गन्तव्य स्थलमा पुगेर अनुगमन गर्न सकिने भएकाले राजमार्गमा ट्रक रोकी अनावश्यक अवरोध गर्ने प्रचलन पनि कम हुने सरकारको अपेक्षा छ ।






























