अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

 गण्डकी प्रदेशका पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला वर्षमा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ ।

कोभिड–१९ महामारीका कारण सन् २०२१ मा पर्यटक सङ्ख्या घटे पनि त्यसयता बर्सेनि पर्यटक आगमनमा सुधार आएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २०२२ मा एक लाख २९ हजार ७१८, सन् २०२३ मा एक लाख ९१ हजार ६६६ र सन् २०२४ मा दुई लाख ४४ हजार २५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् ।
सन् २०२५ को १० महिनामै गत वर्षको भन्दा बढी पर्यटक आएको ‘एक्याप’ को तथ्याङ्कले देखाएको छ । गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक यहाँ भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटक आएको ‘एक्याप’ का प्रमुख डा रविन कडरियाले जानकारी दिए । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम  नौ हजार ३५९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् ।

‘जेनजी’ आन्दोलनलगायत कारणले गत सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अक्टोबरमा भने यसवर्ष एक हजार ५५७ पर्यटक बढी आएका ‘एक्याप’ले जनाएको छ । नोभेम्बरपछि पर्यटक आगमन विस्तारै घट्ने र मार्चपछि पुनःपर्यटक बढ्ने प्रमुख डा कडरियाले बताए ।