वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताएका छन् ।
वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भारतको उत्तरीराज्यभन्दा नेपालको आँखा उपचार अब्बल रहेको बताए।
उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेकाले यसलाई थप सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए। ‘चिकित्सक र स्वास्थ्यकर्मीसँग ठूलो अपेक्षा राखेर बिरामी उपचार गर्न आएका हुन्छन् । त्यसैले पनि यो पेसामा संलग्न हुनेले स्तरीय सेवा दिन पछि हट्नुहुँदैन ।’
‘चिकित्सा पवित्र पेसा हो, यसमा मानिसले पूर्ण विश्वास गरेका हुन्छन्’, उनले भने, ‘पैसा कमाउने अन्य पेसा पनि भएकाले यसलाई बदनाम नगरी मानव र समाज सेवामा केन्द्रित हुनुपर्छ ।’
अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले अस्पतालले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटीलगायत उपचार सेवा दिँदै आएको जानकारी दिए ।
‘विगत एक दशकमा यहाँबाट १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ । जसमा आँखाको मात्रै शल्यक्रिया एक लाखभन्दा बढी बिरामीको गरेका छौँ’, उनले भने। आगामी दिनमा सेवा विस्तारसँगै थप गुणस्तरीय सेवा प्रवाहमा जोड दिने उनको योजना छ ।
अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावमा कोही पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने भावनाले उपचार गराउँदै आइरहेको बताए। आँखासम्बन्धी विशेषज्ञ चिकित्सक राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सोही अवसरमा सम्मानित गरिएको थियो ।
अस्पतालका अध्यक्ष विश्वराज गौतमले अस्पतालले आगामी दिनमा बिरामीका लागि अत्याधुनिक सेवा प्रवाह गर्दै जाने प्रतिबद्धता जनाए ।































