अर्घाखाँची — पाणिनि गाउँपालिका–१ पणेनाका युवा रेवती भट्टराईको बारीमा सुन्तलाका ५ सय ३५ बोटले फल दिन्छन् । गत वर्ष १ सय ७० क्विन्टल बिक्री गरेका उनले ९ लाख रुपैयाँको कारोबार गरेका थिए । यसपालि केही नयाँ र पुराना बोटमा लटरम्मै फलेकाले २ सय क्विन्टलसम्म उत्पादन हुने अनुमान उनको छ ।
बोटमा पाकेका दाना टिपेर बजार बेच्न सुरु भएको छ । बुटवलका व्यापारी जीवलाल पाण्डेले उनकाे बारीमा रहेका सुन्तला पाक्नुअगावै बुकिङ गरिसेका छन् । ‘हामीले उत्पादन गर्ने मात्रै हो, व्यापारी त हरियो दाना लाग्दै घरमै आएर बुकिङ गरिहाल्छन्,’ उनले भने, ‘बुकिङ गरेका बोट रेखदेख गरेर दाना जोगाइदिने मात्रै हो । क्यारेटमा प्याकिङ गर्ने गरी पुस १५ बाट सुन्तला टिप्ने कुरा छ, केही त टिपेर बजार पठाइरहेका छौं ।’
बोटबाट टिपेपछि क्यारेटमा प्याकिङ गरेर गाडीबाट बुटवलमा तिनै व्यापारीले लैजाने गर्छन् । टिप्ने बेलामा सुन्तलाको थोक मूल्यको मोलतोल हुन्छ । गत वर्ष फुटकर प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको थियो । अहिले ७० मा बिक्री भइरहेको छ । कक्षा १२ उत्तीर्ण गरेपछि उनी केही वर्ष वैदेशिक रोजगारीमा थिए ।
दशकअघि घर फर्केर अन्न फल्ने बारीमा सुन्तला लगाएका थिए । बजार राम्रो भएकाले सबै बारीमा उनले सुन्तलाका बोट रोपेका छन् । सुन्तलाको कमाइबाट भट्टराईले सिम्लेमै अढाई तले पक्की घर बनाएका छन् । ‘विदेश भन्दा त यहीँ सुन्तला खेतीबाट जीवन फेरियो,’ उनले भने, ‘जति उत्पादन गरे पनि बिक्री नहोला भन्ने छैन । हरियो दाना छँदै व्यापारी घरमै आएर बोट बुकिङ गर्छन्, बेच्नको लागि बजार धाउन पनि परेन ।’































