काठमाडौँमा ट्राभल एजेन्सी स्थापना गरी विभिन्न देश जान चिट्ठा (लोटरी) परेको बहाना बनाएर ठगी गरेको आरोपमा सातजना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा एक नेपाली र ६ भारतीय छन्। नेपालीका नाममा कम्पनी स्थापना गरी भारतीयहरूले मोटो रकम ठगी गरेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) मनोहरकुमार भट्टले बताए। पक्राउ पर्ने नेपाली सप्तरी कञ्चनरुप नगरपालिका १२ घर भई भक्तपुर मध्यपुर ठिमी २‚ गठ्ठाघर बस्ने २६ वर्षीय विवेक रेग्मी छन्।
पक्राउ पर्ने भारतीयमा ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र ४२ वर्षीय समादा गिरी छन्। पक्राउ परेका सबै भारतीय तेलंगाना राज्यअन्तर्गत हैदरावादका हुन्। उनीहरू ललितपुर महालक्ष्मी नगरपालिका २‚ बालकुमारी बस्दै आएका थिए।
भट्टका अनुसार भारतीयहरूले रेग्मीका नाममा काठमाडौँ महानगरपालिका १०‚ थापागाउँमा श्रीर्टेल होलिडेज नामक कम्पनी स्थापना गरेका थिए। १७ कात्तिक २०८२ मा स्थापना गरिएको कम्पनीले हालसम्म ३२८ पीडितबाट दुई करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको पाइएको छ।
भट्टका अनुसार कम्पनीमा ३० नेपाली कामदार नियुक्ति गरिएको थियो। ती कामदार र सम्पर्कमा आउने ग्राहकलाई कम्पनीको प्रधान कार्यालय भारत हैदराबादमा रहेको बताइन्थ्यो। “उनीहरूले लोटरी अफरमा सहभागी गराउन भाटभटेनी, सिभिल मललगायत विभिन्न स्थानमा स्टल राखेर मानिसहरूलाई फाराम भराउने गर्थे,” कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्का भन्छन्, “फाराम भर्ने सबैलाई लोटरी पर्यो भनेर फोन गरी कार्यालयसम्म बोलाउने गरेको अनुसन्धानमा खुलेको छ।”
ट्राभल एजेन्सीबाट सर्वसाधारणलाई युरोप, एसिया, अफ्रिकालगायत १७५ देशमा भ्रमणको लागि विभिन्न नम्बरबाट फोन गरी लोटरी परेको भन्दै झुक्याइने गरिएको थियो। यसरी सम्पर्कमा आएका व्यक्तिलाई प्याकेज बुक गरी भुक्तानी लिएपछि कम्पनीले भ्रमण नगराएको र पैसा फिर्ता माग्न जाँदा विभिन्न बहाना बनाएर रकम फिर्ता नगरेको उजुरी प्रहरीसँग परेको खड्काले बताए। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ।
































