विश्व प्रसिद्ध इमेल सेवा प्रदायक ‘जिमेल’ले आफ्नो सञ्चालनको २२औँ वर्ष प्रवेशको अवसर पारेर प्रयोगकर्ताहरूका लागि एक महत्त्वपूर्ण र प्रतीक्षित सुविधा सार्वजनिक गरेको छ । सन् २००४ अप्रिल १ देखि सेवा आरम्भ गरेको जिमेलले दुई दशकभन्दा लामो समयपछि पहिलो पटक प्रयोगकर्तालाई आफ्नो इमेल ठेगाना (युजरनेम) परिवर्तन गर्ने अनुमति दिएको हो ।
सुरुवाती चरणमा सिर्जना गरिएको इमेल ठेगानाप्रति सन्तुष्ट नरहेका र व्यावसायिक प्रयोजनका लागि नाम परिमार्जन गर्न चाहने प्रयोगकर्ताहरूको गुनासोलाई मध्यनजर गर्दै कम्पनीले यो नयाँ फिचर कार्यान्वयनमा ल्याएको हो ।
नयाँ व्यवस्था अनुसार, प्रयोगकर्ताहरूले जिमेलको ‘सेटिङ्स’ भित्र रहेको ‘पर्सनल इन्फो’ खण्डमा गएर आफ्नो युजरनेम परिमार्जन गर्न सक्नेछन् । यद्यपि, कम्पनीले यो सुविधाको दुरुपयोग रोक्न वर्षमा एक पटक मात्र परिवर्तन गर्न पाइने सीमा तोकेको छ ।
इमेल ठेगाना परिवर्तन गरे तापनि प्रयोगकर्ताका पुराना सबै इमेल, फाइल र डाटा पूर्ण रूपमा सुरक्षित रहने कम्पनीले जनाएको छ । साथै, परिमार्जन गरिएको पुरानो इमेल ठेगाना ‘वैकल्पिक इमेल’ का रूपमा प्रणालीमा यथावत् रहनेछ । यसले गर्दा पुरानो ठेगानामा पठाइएका सन्देशहरू पनि प्राप्त भइरहनेछन् भने प्रयोगकर्ताले दुवै युजरनेम प्रयोग गरी जिमेलका सेवाहरूमा लग–इन गर्न सक्नेछन् ।
































