काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गरेको आरोपमा पक्राउ परेका व्यक्ति सन्दीप सिंह रहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ बस्ने ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरिएको हो ।
उनीविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । साउन ८ गते सञ्चालित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फको एमबीएस प्रथम सेमेस्टरको ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र ह्वाट्सएप समूहमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
सीआईबीका अनुसार घटनामा संलग्न रहेको आरोपमा सिंहलाई साउन १० गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ बाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।































