डिडिसीका ३० ‘आउटलेट’ सञ्चालनमा आउँदै

काठमाडौँ – दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।

उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो। काठमाडौँको बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले जानकारी दिए।

यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा आजदेखि नयाँ सजावटसहितको ‘आउटलेट’ सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको महाप्रबन्धक पाण्डेले उद्घाटन गरे।

आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन्।

डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको छ। डिडिसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ। निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ।

डिडिसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्रीवितरण गर्ने योजना अघि सारेको छ। केही दिनभित्र अनलाइन मार्केटिङ सुरु हुने महाप्रबन्धक पाण्डेले जानकारी दिए।