कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपीआईएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको “कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्‍याउने” कार्यक्रम कार्यान्वयनका लागि ‘एएमपीआईएस नेपाल’ ल्याइएको हो ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याइएको बताएकी छन् । उनले कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधिको प्रयोग विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख समेत गरिन् ।

यसअघि कृषि विभागको वेबसाइटमार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई थप स्तरोन्नति गरिएको छ ।

यससँगै, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा कालिमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलका लागि उपलब्ध ‘एएमपीआईएस नेपाल’ एप मार्फत पनि सार्वजनिक गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

उक्त एप २०८३ साउन ८ गतेदेखि एन्ड्रोइड प्रणाली भएका मोबाइल फोनमा प्रयोग गर्न सकिने व्यवस्था गरिसकेको छ । विभागको वेबसाइटमा राखिएको द्रुत प्रतिक्रिया संकेत (क्यूआर कोड) स्क्यान गरेर पनि एप डाउनलोड तथा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

यस एपमार्फत कृषक तथा सरोकारवालाले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, बजारअनुसार मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमी सल्लाह बुलेटिन सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

मन्त्री चौधरीले यस प्रणालीले कृषकलाई उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न, उचित मूल्य प्राप्त गर्न तथा बजारसम्बन्धी निर्णय तथ्यमा आधारित बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।