काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र पूजाआजा सहज र व्यवस्थित बनाइएको छ ।
साउनको पहिलो सोमबारमा देखिएका केही व्यवस्थापकीय कमजोरी सुधार गरिएकाले श्रद्धालुले अपेक्षाकृत कम समयमै दर्शन गर्न पाएको जनाएका छन् ।
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधालाई ध्यानमा राख्दै शङ्कराचार्य मठमुनि जुत्ता–चप्पल राख्ने व्यवस्था मिलाएको छ । दर्शनार्थी लाम बस्ने स्थानमा कार्पेट बिछ्याइएको छ । भक्तजनहरूले करिब आधा घण्टामै दर्शन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार आज बिहान ३ जेदेखि नै मन्दिरका चारै ढोका खोलिएका थिए । साउने झरीको बेवास्ता गर्दै भक्तजन बिहानैदेखि दर्शनका लागि लामबद्ध भएका थिए । अपराह्नतिर मौसम खुलेपछि चर्को घाममा छाता ओढेर पनि श्रद्धालु लाममा बसेका देखिएका छन् ।
कोषले यस वर्ष दर्शन तथा पूजा व्यवस्थापनलाई थप सुरक्षित, सहज र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरेको जनाएको छ । पहिलो सोमबारसम्म सम्पन्न हुन नसकेका व्यवस्थापकीय काम दोस्रो सोमबारअघि नै सम्पन्न गरिएकाले यसपटक दर्शन व्यवस्थापनमा उल्लेखनीय सुधार आएको कोषको भनाइ छ ।
दर्शन व्यवस्थापनमा कोषका पदाधिकारी र कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक सङ्घसंस्थाका स्वयंसेवक परिचालित छन् ।
मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ । बिहान ९ बजेसम्म अत्यधिक भीड नभए पनि त्यसपछि भक्तजनको चाप बढ्दै गएको कोषले जनाएको छ ।
दर्शनार्थीका लागि प्राथमिक उपचारसहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् भने केही संस्थाले निःशुल्क खानेपानी वितरण गरिरहेका छन् ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । देशका अन्य शिवमन्दिरमा पनि श्रद्धालुले पूजा–आराधना र दर्शन गरेका छन् ।































