सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको घटनापछि फैलिएको तनावलाई नियन्त्रणमा लिन प्रशासनले सुनसरी, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको छ।
ती चार जिल्लाका स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले स्थानीय अवस्था हेरी विभिन्न समय र स्थानमा कर्फ्यु तथा निषेधाज्ञा लागू गरेको जनाएका छन्।
सुनसरीमा १० वटा स्थानीय तहमा मंगलबार रातिदेखि लगाइएको कर्फ्यु अझै पनि निरन्तर छ। सुनसरीको तनाव बुधबारदेखि मधेशमा सरेपछि अवस्था जटिल भएको छ। सिरहाको गोलबजारमा गोली लागेर एक युवकले ज्यान गुमाएका छन्। ठाउँ ठाउँमा आगजनी र तोडफोड भएको छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै अफवाहमा विश्वास नगर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबैसँग सहयोगको अपिल गरेको छ।































