विश्वको सबैभन्दा वृद्ध व्यक्तिको निधन

एजेन्सी । विश्वको सबैभन्दा वृद्ध स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले जनाएको छ ।

गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।

मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो”, उहाँको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । “हामी उहाँको सम्झना सधै रहनेछ ।”

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आउनुभएका ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताउनुभएको थियो ।

“मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दु:ख नमान्नुहोस्। म जहाँ रहेपनि खुसी रहनेछु”, उहाँले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताउनुभएको हो ।

अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका हुनुहुन्छ । सन् १९०८ मे २३ मा जन्मनुभएका टोमिको हाल ११६ वर्षको हुनुहुन्छ ।