काठमाडौँ — अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई सोमबार कारबाही गरेको छ ।
तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता/सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरेको छ ।
गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिइ प्रकाशन/प्रसारण गर्ने युट्युब च्यानल प्रयोगकर्तामाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाइ कारबाही प्रक्रियाअघि बढाएको छ ।
यही मङ्सिर ४ गते यस्तै खालका ९ युट्युब च्यानल र पेज प्रयोगकर्तालाई काउन्सिलले कारबाही गरेको थियो । आज विना दर्ता सञ्चालित मिसन टुडे, डेलिन्यूज एनपी, सेवायो न्यूज, मिडिया ताजा खबर, ऋणी एशोसिएशन र हट न्यूज नेपाल नामक युट्युब च्यानल र पेजलाई थप अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरिएको हो । अन्य माध्यमलाई गलत र भ्रमपूर्ण सामग्री हटाइ, उक्त सामग्री प्रसारण गर्नुको कारणसहित २४ घण्टाभित्र पेस गर्न काउन्सिलले निर्देशन दिएको छ ।
































