काठमाडौँ – चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस ११ देखि १५ सम्म ‘१८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ।
सफारी पर्यटन प्रवर्द्धनका साथै चितवनलाई महत्वपूर्ण पर्यटन गन्तव्य स्थलका रूपमा चिनाउने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
क्षेत्रीय होटल संघ चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सहआयोजनामा सौराहामा महोत्सव आयोजना गर्न लागिएको हो।।
महोत्सवअन्तर्गत हुने विभिन्न गतिविधिमा निजीस्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन्। महोत्सवका लागि करिब रु एक करोड ३५ लाख खर्च हुने जनाइएको छ।
हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकारसहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको सहयोग रहेको छ। विस २०५५ देखि महोत्सव निरन्तर भइरहेको छ।