दुई सय दश जना किसान सम्मानित

नुवाकोट – ‘युवा किसान सञ्जाल’ले जिल्लाको दुई सय दश जना किसानलाई सम्मान गरेको छ ।

ककनी–२ नुवाकोटमा मुख्य कार्यालय रहेर किसानको पक्षमा वकालती गर्दै आएको उक्त संस्थाले आज एकैदिन नुवाकोटको कृषि क्षेत्रको विभिन्न विधामा योगदान पुर्‍याउँदै आएका किसानलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा योगदानको आधारमा जिल्लास्तरीय, पालिकास्तरीय, वडास्तरीय, कृषि र पशुपन्क्षी पालन, दूध उत्पादक लगायतका क्षेत्रमा आबद्ध किसान रहेका छन् ।

‘उत्कृष्ट किसान’ लाई सम्मान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले किसानको मिहिनतले देशको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे । किसानको जीवनस्तर उकास्दै जनजीवन सुधारको लागि बागमती प्रदेश सरकारले सङ्घ र पालिकासँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री श्रेष्ठले जानकारी दिए ।